काठमाडौंमा एलपी ग्यासको चरम अभाव, मागको पाँच भागको एक भाग मात्रै आपूर्ति

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण ढुवानी प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति निकै घटेको छ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि उद्योगीहरूले त्रिभुवन राजपथ हुँदै वैकल्पिक मार्गबाट ग्यास ल्याइरहेका छन्। घुमाउरो र असहज बाटोका कारण बजारको मागअनुसार पर्याप्त ग्यास भित्र्याउन नसकिएको व्यवसायीहरूले बताएका छन्।

मंगलबार काठमाडौं उपत्यकामा ९ वटा ग्यास कम्पनीका १८ हजार २ सय ५९ सिलिन्डर मात्रै डिलरमार्फत बजारमा पुगेका छन्। जबकि पछिल्ला दिनमा उपत्यकाको दैनिक माग करिब १ लाख सिलिन्डर पुगेको एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताएका छन्।

सामान्य अवस्थामा भने काठमाडौं उपत्यकामा दैनिक ३५ देखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने गरेको उनको भनाइ छ।

नेपाल आयल निगमका अनुसार मंगलबार सगरमाथा ग्यासले सबैभन्दा धेरै ४ हजार ६ सय ९९ सिलिन्डर ६० डिलरमार्फत वितरण गरेको छ। एभरेस्ट ग्यासले २८ डिलरमार्फत ३ हजार ४ सय ७५, सुगम ग्यासले १५ डिलरमार्फत २ हजार ४ सय २३ र एसटीसी ग्यासले ४४ डिलरमार्फत २ हजार १ सय ४६ सिलिन्डर बजार पठाएका छन्।

त्यस्तै, सीताश्री ग्यासले १ हजार ६ सय, श्री ग्यासले १ हजार ९ सय ६०, श्रीमाया ग्यासले १ हजार २ सय ९१, श्रीराम ग्यासले ३ सय ६० र मनोज ग्यासले ३ सय ५ सिलिन्डर वितरण गरेका छन्।

मागको तुलनामा आपूर्ति निकै कम भएपछि उपभोक्ता ग्यासका लागि डिलर तथा उद्योगमा लामो समयदेखि लाइन बस्न बाध्य भएका छन्। ढुवानीमा सुधार नआएसम्म काठमाडौंमा ग्यासको अभाव कायमै रहने देखिएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin