मेक्सिको सिटी — फिफा विश्वकपमा इक्वेडरमाथि ऐतिहासिक जितपछि मनाइएको उत्सवका क्रममा मेक्सिको सिटीमा चार जनाको मृत्यु भएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार भीडमा निसास्सिएर १९ वर्षीया युवती, ४८ वर्षीया महिला र ४४ वर्षीय पुरुषको ज्यान गएको हो। अर्का ३० वर्षीय पुरुषको भने छारे रोगको समस्या आएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
मेक्सिकोले सन् १९८६ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेपछि राजधानीको ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ स्मारक आसपास १० लाखभन्दा बढी समर्थक उत्सव मनाउन सडकमा उत्रिएका थिए। अत्यधिक भीडका कारण केही स्थानमा आपत्कालीन अवस्था सिर्जना भएको थियो।
मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएकी छन्। उनले फुटबल समर्थकलाई जिम्मेवारीपूर्वक, सतर्कताका साथ र अरूप्रति सहानुभूति राखेर उत्सव मनाउन आग्रह गरेकी छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार भीडभाड भएका विभिन्न स्थानबाट तीन जनालाई बेहोस अवस्थामा उद्धार गरी प्राथमिक उपचार र सिपिआरपछि अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतकहरूको पहिचान परिवारले गरिसकेको जनाइएको छ।
मेक्सिकोको जितपछि राजधानीका विभिन्न क्षेत्रमा लामो समयसम्म आतसबाजी र उत्सव मनाइएको थियो। अत्यधिक भीड हुने अनुमान गर्दै मेयर ब्रुगाडाले खेलअघि नै समर्थकलाई ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ क्षेत्रमा नजान आग्रह गरेकी थिइन्। करिब दुई करोडभन्दा बढी जनसंख्या रहेको मेक्सिको सिटी विश्वका सबैभन्दा धेरै जनघनत्व भएका महानगरमध्ये एक हो।
यो जितसँगै मेक्सिको विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। अब मेक्सिकोले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।



