नेपाल आयल निगममा ओभरटाइम भत्तामा कडाइ, प्राविधिक कर्मचारीले मात्र पाउने

काठमाडौं — नेपाल आयल निगमका कर्मचारीहरूले पाउँदै आएको अतिरिक्त समय (ओभरटाइम) भत्तामा व्यापक कटौती गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशन तथा मन्त्रालय र निगम नेतृत्वबीच भएको छलफलपछि लागू गरिएको ‘नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियामावली, २०८३’ मार्फत नयाँ व्यवस्था गरिएको हो।

नयाँ विनियामावलीअनुसार २४सै घण्टा सञ्चालन हुनुपर्ने तथा संवेदनशील प्रकृतिका प्राविधिक क्षेत्रमा प्रत्यक्ष खटिने कर्मचारीहरूले मात्र अतिरिक्त समय भत्ता पाउनेछन्। यसअन्तर्गत हवाई इन्धन डिस्पेन्सर, इन्धन वितरण डिपो तथा पाइपलाइन सञ्चालनमा संलग्न कर्मचारीले कार्यालय समयभन्दा बढी काम गरेमा नियमानुसार ओभरटाइम भत्ता प्राप्त गर्नेछन्।

यस बाहेकका प्रशासनिक तथा गैर–प्राविधिक कर्मचारीलाई ओभरटाइम भत्ता नदिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हरेक वर्ष ओभरटाइमको नाममा राज्यको करोडौं रुपैयाँ खर्च हुँदै आएकाले अनावश्यक खर्च तथा चुहावट नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गरिएको हो।

विनियामावलीमा अतिरिक्त समयमा कर्मचारी परिचालनका लागि पनि कडा मापदण्ड तोकिएको छ। कुनै कर्मचारीलाई अतिरिक्त समयमा काममा लगाउँदा त्यसको स्पष्ट कारण, कार्यबोझ र कर्मचारीको उपलब्धता उल्लेख गर्नुपर्नेछ। साथै आकस्मिक अवस्था वा थप कार्यको आवश्यकता पुष्टि भएपछि मात्र अधिकारप्राप्त अधिकारीको पूर्वस्वीकृतिमा अतिरिक्त समय काम गराउन पाइने व्यवस्था गरिएको छ।

स्वीकृति दिने अधिकारीले मितव्ययिता, कार्यदक्षता र प्रभावकारितालाई आधार बनाएर मात्र निर्णय गर्नुपर्ने प्रावधान पनि विनियामावलीमा समावेश गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका उच्च पदाधिकारीबीच प्रशासनिक खर्च तथा ओभरटाइमका नाममा हुने बेथिति नियन्त्रण गर्ने विषयमा भएको छलफलको निष्कर्षका आधारमा संशोधित विनियामावली तयार पारिएको मन्त्रालयले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin