काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी बेपत्ता भएका नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई) सहितको टोलीको खोजी कार्य खराब मौसमका कारण शुक्रबार रातभरका लागि स्थगित गरिएको छ।
बिहीबार ब्रोड पिकमा गएको शक्तिशाली हिमपहिरोमा परी १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको थियो। उद्धार टोलीले शुक्रबार चार जनाको शव फेला पारेको छ।
फेला परेका शवमध्ये दुई जनाको पहिचान खुलेको छ। उनीहरू नेपाली आरोही पूरबहादुर गुरुङ र ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थी रहेको बताइएको छ। अन्य दुई शवको पहिचान हुन बाँकी छ।
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार बिहीबार मध्याह्न ब्रोड पिकको दोस्रो र तेस्रो क्याम्पबीच करिब ६ हजार ६ सयदेखि ७ हजार मिटर उचाइको क्षेत्रमा हिमपहिरो गएको थियो। हिमपहिरोले आरोही टोलीलाई करिब १ हजार मिटर तलसम्म बगाएको जिपिएस ट्र्याकरको विवरणले देखाएको छ।
खोजी तथा उद्धारका लागि पाकिस्तानी अधिकारी, सेना र सम्बन्धित निकाय परिचालन भए पनि प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण उद्धारमा कठिनाइ भइरहेको छ। बेपत्ता आरोहीमध्ये विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई) पनि छन्।
ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो, जसको उचाइ ८ हजार ४७ मिटर रहेको छ।



