काठमाडौँको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीले विद्यार्थी भर्नाका लागि शिक्षकहरूलाई ‘मार्केटिङ एजेन्ट’का रूपमा प्रयोग गर्दै विद्यार्थीहरूको व्यक्तिगत गोपनियतामाथि गम्भीर खेलबाड गरेको खुलासा भएको छ। कलेजले देशभरका SEE दिएका विद्यार्थीहरूको मोबाइल नम्बर अवैध रूपमा संकलन गरी शिक्षकहरूलाई जबरजस्ती फोन गर्न लगाएर व्यावसायिक दबाब दिने गरेको पाइएको हो। सम्बन्धित व्यक्तिको अनुमतिबिना निजी विवरण प्रयोग गरी भर्नाका लागि प्रलोभन देखाउनु कानुनी र नैतिक दुवै दृष्टिले गलत मानिन्छ।
शिक्षकलाई ‘टार्गेट’को भारी र श्रम शोषण
शैक्षिक संस्था भए पनि नोबेल एकेडेमीको कार्यशैली कुनै व्यावसायिक कल सेन्टरको जस्तो देखिएको छ, जहाँ शिक्षकहरूलाई कक्षाकोठाको तयारी भन्दा बढी फोन गर्ने ‘दैनिक टार्गेट’ दिइन्छ। शिक्षकहरूले आफ्नै व्यक्तिगत मोबाइलबाट अपरिचित विद्यार्थी र अभिभावकलाई फोन गरेर कलेज आउन मनाउनुपर्ने बाध्यता रहेको छ। यसले शिक्षकहरूको बौद्धिक मर्यादामा ठेस पुऱ्याउनुका साथै उनीहरूलाई श्रम शोषणको सिकार बनाएको गुनासो चुलिएको छ।
कलेजले विभिन्न इन्स्टिच्युट र विद्यालयहरूसँगको ‘सेटिङ’ मार्फत विद्यार्थीको डाटा चोरी गर्ने गरेको आरोप समेत लागेको छ। यसरी संकलन गरिएको विवरणका आधारमा विद्यार्थीहरूलाई मानसिक दबाब दिँदै भर्ना अभियान चलाइएको छ। यो प्रवृत्तिले काठमाडौँका नाम चलेका कलेजहरूले विद्यार्थी तान्न कतिसम्म अनैतिक बाटो रोज्छन् भन्ने तथ्यलाई छताछुल्ल पारेको छ।
बौद्धिक जनशक्तिलाई मजदुर जस्तै प्रयोग गर्ने र शिक्षालाई विशुद्ध व्यापार बनाउने यस्ता गतिविधिमाथि शिक्षा मन्त्रालय र नियामक निकायले तत्काल छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ। विद्यार्थीको गोपनियताको रक्षा र शिक्षकको सम्मान कायम राख्न कडा कदम नचाले शिक्षा क्षेत्रको साख थप गिर्ने निश्चित छ।



