काठमाडौंमा ‘अपरेसन सेफ्टी काठमाडौं’: गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

काठमाडौं — राजधानीका विभिन्न स्थानमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली परिचालन गरी ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गर्दा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार परिसरले मात्र ५ जनालाई नियन्त्रणमा लिएको छ, जो गुण्डागर्दी गर्दै आफ्नै समूह बनाउने प्रयासमा रहेका थिए।

श्याम लामा समूहमा आबद्ध रही गतिविधि गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङ पक्राउ परेका छन्। त्यस्तै, कलंकी–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रबाट सुजन कार्की र स्युचाटार क्षेत्रबाट सरू हुमागाईं पक्राउ परेका छन्। प्रहरीका अनुसार हुमागाईंले पनि आफ्नै समूह बनाउने प्रयास गरिरहेका थिए।

यस्तै, बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बिकी लामालाई पनि नियन्त्रणमा लिइएको छ।

उता, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रमा सक्रिय थप १३ जनालाई पक्राउ गरेको कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।

प्रहरीका अनुसार अपरेसनका क्रममा ठूलो संख्यामा शंकास्पद व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर स्क्रिनिङ गरिएको छ। यसअघि पनि यस्ता अपरेसनहरूमा १०० देखि १२५ जनासम्मलाई नियन्त्रणमा लिएर आपराधिक पृष्ठभूमि जाँच गरिँदै आएकोमा यसपटक त्योभन्दा बढी संख्यामा व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin