मस्को — युक्रेनले पछिल्ला हप्ताहरूमा रूसी तेल प्रशोधन केन्द्रहरू (रिफाइनरी) माथि ड्रोन आक्रमण तीव्र बनाएपछि रुसमा इन्धन आपूर्तिमा दबाब बढ्दै गएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक रूपमा देशमा इन्धनको “केही अभाव” रहेको स्वीकार गरेसँगै रुसको ऊर्जा आपूर्तिसम्बन्धी चुनौती थप चर्चामा आएको छ।
ड्रोन आक्रमणका कारण केही प्रमुख रिफाइनरीको उत्पादन प्रभावित भएपछि पेट्रोल र डिजेलको उपलब्धतामा असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही क्षेत्रमा पेट्रोल पम्पमा लामो लाइन देखिन थालेको छ भने इन्धनको सीमित बिक्री र मूल्यवृद्धिका समाचार पनि सार्वजनिक भएका छन्।
आपूर्ति प्रणालीलाई स्थिर राख्न रूसी सरकारले रिफाइनरीहरूको मर्मत कार्य तीव्र बनाउने, रणनीतिक इन्धन भण्डार प्रयोग गर्ने तथा बजारको निरन्तर निगरानी गर्न विशेष संयन्त्र परिचालन गरेको बताइएको छ। घरेलु बजारमा अभाव नहोस् भनेर पेट्रोल तथा डिजेल निर्यातमा थप नियन्त्रण गर्ने विकल्पसमेत सरकारले अध्ययन गरिरहेको छ।
ऊर्जा निर्यातकर्ताका रूपमा परिचित रुसले अब बाह्य बजारबाट इन्धन ल्याउने सम्भावनासमेत खोज्न थालेको छ। कजाकिस्तानबाट एआई–९२ पेट्रोल आयात गर्ने विषयमा छलफल भइरहेको बताइएको छ भने भारतबाट समुद्री मार्ग हुँदै पेट्रोल ल्याउने विकल्पबारे पनि तयारी अघि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
विशेषगरी भारतसँगको सम्भावित इन्धन आयातलाई अर्थपूर्ण रूपमा हेरिएको छ। युक्रेन युद्धपछि भारत रूसी कच्चा तेलको प्रमुख खरिदकर्ता बनेको थियो। तर अहिले रुस आफैं भारतबाट प्रशोधित इन्धन आयात गर्ने अवस्थातर्फ उन्मुख हुनु आन्तरिक आपूर्ति दबाबको संकेतका रूपमा हेरिएको छ।
यता, रिफाइनरीहरूको उत्पादन घटेपछि प्रशोधन हुन नसकेको कच्चा तेलको निर्यात भने बढेको छ। तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कमजोर रहेकाले निर्यात बढे पनि आम्दानीमा अपेक्षित वृद्धि हुन सकेको छैन। विश्लेषकहरूका अनुसार यही कारण रूसी ऊर्जा क्षेत्र एकैपटक इन्धन आपूर्ति, निर्यात आम्दानी र सरकारी राजस्वको दबाबसँग जुधिरहेको छ।
विश्लेषकहरूले रिफाइनरीमाथिको आक्रमण निरन्तर भइरहे घरेलु इन्धन आपूर्ति व्यवस्थापन र ऊर्जा निर्यात दुवै क्षेत्रमा रुसले थप चुनौती सामना गर्नुपर्ने बताएका छन्।



