काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएको छ। नेपाल टेलिकमले सूचना जारी गर्दै ठाउँ–ठाउँमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार समस्या कुनै एक क्षेत्रमा सीमित नभई देशका विभिन्न स्थानमा फैलिएको छ। कतिपय ठाउँमा सेवा सञ्चालनमा रहे पनि गुणस्तरमा कमी आएको उनले बताए।
उनका अनुसार निरन्तरको वर्षा र हावाहुरीका कारण विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल टावर सञ्चालनमा समस्या आएको छ। पहाडी तथा हिमाली क्षेत्रमा सोलारबाट सञ्चालन हुने टावरहरू पनि लगातारको वर्षा, बाक्लो बादल र हिमपातका कारण ब्याट्री चार्ज हुन नसक्दा बन्द भएका छन्।
त्यस्तै, बाढी र पहिरोका कारण अप्टिकल फाइबरमा क्षति पुग्दा केही स्थानमा इन्टरनेट सेवा प्रभावित भएको टेलिकमले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्दा पनि मर्मतमा समस्या भइरहेको छ।
डेटा सेवा घटाएर भ्वाइस कललाई प्राथमिकता
विद्युत् आपूर्ति नभएका र ब्याकअपबाट सञ्चालन भइरहेका साइटमा डेटा सेवा कम गरी भ्वाइस कल सेवा सञ्चालनमा राख्ने प्रयास भइरहेको टेलिकमले जनाएको छ।
प्रवक्ता लामिछानेका अनुसार पावर ब्याकअप भएका स्थानमा कम्तीमा एउटा सेवा सञ्चालनमा राख्ने उद्देश्यले डेटा सेवा घटाएर भ्वाइस सेवालाई प्राथमिकता दिइएको छ।
टेलिकमले प्राविधिक रूपमा सम्भव हुने मर्मत तथा व्यवस्थापनको काम निरन्तर गरिरहेको जनाएको छ। जोखिम कम भएका स्थानमा प्राविधिक टोलीहरू बिहानैदेखि मर्मतका लागि परिचालन गरिएको छ।



