काठमाडौं । नेपाल आयल निगमले रसुवालगायत बाढीबाट अतिप्रभावित क्षेत्रमा प्राथमिकताका साथ इन्धन आपूर्ति भइरहेको जनाएको छ।
निगमका अनुसार बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका हेलिकप्टरका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्यूलिङको व्यवस्था मिलाइएको छ।
उद्धार कार्यका लागि आवश्यक हवाई इन्धन बुधबार १२ हजार लिटर र बिहीबार ९ हजार लिटर ट्याङ्करमार्फत नुवाकोटस्थित ब्यारेकमा पुर्याइएको थियो। यस्तै, शुक्रबार हेलिकप्टरमार्फत ९ हजार लिटर र शनिबार १३ हजार लिटर इन्धन पठाइएको निगमले जनाएको छ।
निगमका अनुसार हालसम्म उक्त ब्यारेकमा ४० हजार ८४० लिटर हवाई इन्धन पुर्याइएको छ।
उद्धार कार्यलाई सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूका लागि ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको छ।
बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा आवतजावत तथा आपूर्ति व्यवस्थामा समस्या भए पनि सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल र डिजेलको आपूर्ति नियमित राखिएको निगमले जनाएको छ।
यस्तै, उद्धार गरी विभिन्न स्थानमा रहेका सेल्टरमा बसेका बाढी प्रभावितका लागि आवश्यक एलपी ग्याससमेत पठाइएको छ। निगमको समन्वयमा नेपाल ग्यास उद्योग प्रालिले १० भदौमा मात्रै नुवाकोटमा २३२ थान ग्यास सिलिन्डर पठाएको थियो।
त्यसपछि नुवाकोट र रसुवामा थप १५० थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका गतिविधि जारी रहेकाले इन्धन तथा अत्यावश्यक सामग्रीको आपूर्तिलाई प्राथमिकतामा राखिएको निगमले जनाएको छ।



