काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।
प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै बाढीका कारण ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको दुःखद खबर प्राप्त भएको उल्लेख गरेका छन्। उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
बाढीमा परी घाइते भएका तथा अस्पतालमा उपचाररत नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शाहले अहिलेको अवस्थामा घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित राख्ने कार्य सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
उनका अनुसार बाढीको खबर प्राप्त हुनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो। त्यसपछि राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठकसमेत बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको उनले बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको शाहले बताएका छन्।
घाइतेको सहज र निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आवश्यकताअनुसार घाइतेको उपचार गर्न तयारी अवस्थामा राखिएको उनले बताएका छन्।
प्रभावित क्षेत्रमा मेडिकल टिम परिचालन गरिएको तथा राष्ट्रिय ट्रमा सेन्टर र विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाइएको शाहले उल्लेख गरेका छन्। नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनलगायत निकायबाट समेत चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनले बताएका छन्।
आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायत संस्थासँग निरन्तर समन्वय भइरहेको प्रधानमन्त्री शाहको भनाइ छ।
बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएको उनले बताएका छन्।
ती क्षेत्रमा प्रभावित परिवारसम्म खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्याइने शाहले बताएका छन्। बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनालाई प्राथमिकताका साथ पुनर्निर्माण गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
बेपत्ता नागरिकको खोजी कार्यलाई अझ तीव्र बनाइने, घाइतेको पूर्ण विवरण संकलन गरिने तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण तयार पारिने उनले बताएका छन्। उद्धार कार्य रातभर निरन्तर जारी रहने पनि प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकलाई कठिन घडीमा आफूहरू एक्लो नरहेको विश्वास दिलाउँदै उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने बताएका छन्।
साथै उनले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन्।



