किभ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले बिहीबार रातभर गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार यो हमला रुसले युक्रेनमाथि हालसम्म गरेका सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक हो। आक्रमणमा ८ सयभन्दा बढी ड्रोन र मिसाइल प्रयोग गरिएको बताइएको छ।
स्थानीय अधिकारीहरूका अनुसार किभमा अस्पताल, विद्यालय, आवासीय भवन तथा गोदाममा क्षति पुगेको छ। लगातार भएका विस्फोटका कारण रातको समयमा युक्रेनको आकाश उज्यालो देखिएको थियो भने विभिन्न स्थानबाट धुवाँका मुस्लो उठेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको भिडियोमा किभका विभिन्न क्षेत्रमा भीषण विस्फोटपछि ठूलो आगलागी भएको देखाइएको छ।
रुसी आक्रमणको असर युक्रेनको सीमाबाहिर पनि परेको छ। रोमानियाले रुसी भएको आशंका गरिएको विस्फोटक बोकेको समुद्री ड्रोन आफ्नो क्षेत्रमा प्रवेश गरेको जनाएको छ भने मोल्डोभाले पनि एउटा रुसी ड्रोन आफ्नो भूभागमा खसेको बताएको छ।
युक्रेनले रुसले प्रहार गरेका धेरै ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत खसाल्दै आए पनि पछिल्ला साताहरूमा तीव्र गतिका ब्यालिस्टिक मिसाइल रोक्न आवश्यक अमेरिकी प्याट्रियट प्रणालीका इन्टरसेप्टर मिसाइलको अभाव देखिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै महिनाको सुरुआतमा सीएनएनसँगको अन्तर्वार्तामा युक्रेनसँग अमेरिका तथा अन्य सहयोगीबाट तत्काल आवश्यक पर्ने इन्टरसेप्टर मिसाइलको करिब १० प्रतिशत मात्र रहेको बताएका थिए।
यसैबीच, किभबाहेक चेर्निहिभ क्षेत्रमा रहेको ग्यास पूर्वाधार तथा ओदेसा क्षेत्रमा मोल्डोभासँग जोडिएको सीमा नाकामाथि पनि रुसी आक्रमण भएको जेलेन्स्कीले बताएका छन्। झितोमिर, खेर्सन, खार्किभ र दोनेत्स्क क्षेत्रमा समेत ड्रोन आक्रमण र गोलाबारी भएको जनाइएको छ।
क्षेत्रीय सैन्य प्रशासनका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनभर भएका रुसी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्।
रोमानियाको रक्षा मन्त्रालयका अनुसार युक्रेनसँग सीमा जोडिएको तुल्चिया काउन्टीको निर्जन क्षेत्रमा एउटा रुसी ड्रोन खसेको छ। त्यसपछि तटीय क्षेत्रमा रहेको प्राकृतिक ग्यास परियोजनानजिक विस्फोटक बोकेको समुद्री ड्रोन देखिएपछि रोमानियाले दुईवटा एफ–१६ लडाकु विमान परिचालन गरेको थियो। उक्त ड्रोनलाई पछि नष्ट गरिएको जनाइएको छ।
मोल्डोभाकी राष्ट्रपति माइया सान्डुले पनि आफ्नो देशको हवाई क्षेत्र पुनः उल्लंघन भएको बताएकी छन्। उनका अनुसार एउटा ड्रोन मोल्डोभाको भूभागमा खसेको थियो।
युक्रेनमाथिको रुसी आक्रमणका क्रममा पोल्यान्डले पनि आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि सावधानीस्वरूप सैन्य उड्डयन अभियान सञ्चालन गरेको रोयटर्सले जनाएको छ।
यसबीच रुस र युक्रेनबीच हवाई आक्रमण पछिल्ला दिनमा झन् तीव्र बनेका छन्। युक्रेनले आइतबार रुसतर्फ ८ सयभन्दा बढी ड्रोन प्रहार गरेको थियो, जुन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक मानिएको छ।



