काठमाडौं । विश्व फुटबलको इतिहासमा पहिलो पटक फिफा वरीयताका शीर्ष चार टोली एकैसाथ विश्वकपको सेमिफाइनलमा पुगेका छन्। स्पेन, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले अन्तिम चारमा स्थान बनाएसँगै विश्वकपमा नयाँ इतिहास बनेको हो।
यस उपलब्धिको प्रमुख कारण फिफाले २०२६ विश्वकपका लागि अपनाएको नयाँ ड्र प्रणालीलाई मानिएको छ। प्रतियोगिता सुरु हुनुअघि नै शीर्ष चार टोलीलाई फरक–फरक समूहमा राखिएको थियो, जसले उनीहरूलाई सेमिफाइनलअघि एकअर्कासँग प्रतिस्पर्धा गर्न नपर्ने अवस्था सिर्जना गर्यो। सबै टोलीले आफ्नो समूहमा शीर्ष स्थान हासिल गरेपछि फिफाको योजना सफल भएको हो।
नयाँ व्यवस्थाअनुसार अब मंगलबार हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुनेछन् भने बुधबार इंग्ल्यान्ड र अर्जेन्टिनाबीच दोस्रो सेमिफाइनल खेलिनेछ।
फिफाले ४८ टोली सहभागी हुने नयाँ विश्वकप ढाँचामा समूह विजेताहरू प्रारम्भिक नकआउट चरणमै भिड्ने सम्भावना बढेकाले ड्र प्रक्रियामा परिवर्तन गरिएको जनाएको छ। यसले प्रतियोगिताको अन्तिम चरणसम्म ठूला टोलीहरूलाई प्रतिस्पर्धामा कायम राख्दै आकर्षक खेल सुनिश्चित गर्ने उद्देश्य राखिएको फिफाको भनाइ छ।
फिफा वरीयता प्रणाली सन् १९९४ देखि लागू भए पनि यसअघि कुनै पनि विश्वकपमा शीर्ष चार वरीयताका टोली एकैपटक सेमिफाइनल पुग्न सकेका थिएनन्। उल्टै बेल्जियम, जर्मनी, स्पेन, इटाली र फ्रान्सजस्ता शीर्ष टोलीहरू विभिन्न संस्करणमा समूह चरणबाटै बाहिरिएका उदाहरण छन्।
यसपटक भने फिफाको नयाँ रणनीतिले अपेक्षित नतिजा दिएको छ। विश्व फुटबलका चार शक्तिशाली टोली अन्तिम चारमा पुगेपछि विश्वकपको उपाधि होड थप रोमाञ्चक बनेको छ।



