इमानुएल म्याक्रों ले हर्मुज जलमार्ग खुलाउन बल प्रयोग गर्ने डोनाल्ड ट्रम्प को प्रस्ताव अस्वीकार गरेका छन्।
दक्षिण कोरिया भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै म्याक्रोंले हर्मुजमा सुरक्षित आवागमन पुनःस्थापना गर्न सैन्य उपाय उपयुक्त नहुने बताए। उनले ट्रम्पको प्रस्तावलाई अव्यावहारिक भन्दै कूटनीतिक वार्तामार्फत दीर्घकालीन समाधान सम्भव रहेको धारणा राखे।
म्याक्रोंका अनुसार समस्या समाधानका लागि इरान, अमेरिका र इजरायलबीचको तनाव अन्त्य हुन आवश्यक छ।
हाल इरानले विश्वको २० प्रतिशतभन्दा बढी पेट्रोलियम ढुवानी हुने हर्मुज जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा संकटको जोखिम बढेको छ।
यसैबीच बेलायत ले ४१ देशको सहभागितामा भर्चुअल बैठक आयोजना गर्दै इरानमाथि कूटनीतिक र आर्थिक दबाब बढाउने विषयमा छलफल गरेको छ। बैठकमा फ्रान्स, जर्मनी, इटाली, जापान, क्यानडा र दक्षिण कोरिया सहभागी भए पनि अमेरिका सहभागी थिएन।
बेलायती विदेशमन्त्री यभेट कुपर ले इरानको कदमको आलोचना गर्दै अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने प्रयास अस्वीकार्य भएको बताइन्।
उता ट्रम्पले भने नेटो देशहरूलाई हर्मुज क्षेत्रमा जहाज पठाएर मार्ग खोल्न आह्वान गर्दै आएका छन्।
आजै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद मा हर्मुज क्षेत्रमा बल प्रयोगसम्बन्धी प्रस्तावमा मतदान हुँदैछ। बहराइनको अध्यक्षतामा रहेको परिषदमा प्रस्ताव पारित हुन कम्तीमा ९ मत आवश्यक पर्छ।
तर अमेरिका, रूस, चीन, बेलायत र फ्रान्सजस्ता स्थायी सदस्यमध्ये कुनै एकले भिटो प्रयोग गरे प्रस्ताव अस्वीकृत हुनेछ।



