ट्रम्प सहभागी कार्यक्रममा निषेधित हवाई क्षेत्रमा विमान छिरेपछि लडाकु विमान परिचालन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा निषेधित हवाई क्षेत्रमा यात्रुवाहक विमान प्रवेश गरेपछि अमेरिकी सेनाले लडाकु विमान परिचालन गरेको छ।

मंगलबार ओहायोको जेनेभामा ट्रम्प सहभागी ‘प्याट्रियट गेम्स’ कार्यक्रम चलिरहेका बेला यात्रुवाहक विमान अस्थायी रूपमा लागू गरिएको नो-फ्लाई जोनमा प्रवेश गरेको हो। अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति वा उच्चपदस्थ अधिकारीको भ्रमणका क्रममा सुरक्षाका लागि कार्यक्रमस्थल वरपर निश्चित क्षेत्रमा अस्थायी हवाई प्रतिबन्ध लगाइन्छ।

उक्त विमान निषेधित क्षेत्रमा प्रवेश गरेपछि उत्तर अमेरिकी एरोस्पेस डिफेन्स कमान्ड (नोरड)ले अमेरिकी लडाकु विमान परिचालन गरेको जनाएको छ। लडाकु विमानले सुरुमा पाइलटलाई प्रतिबन्धित क्षेत्रबाट बाहिरिन संकेत गर्न फ्लेयर प्रहार गरेको थियो। त्यसपछि लडाकु विमान आकाशमै पठाएर यात्रुवाहक विमानलाई सुरक्षित रूपमा प्रतिबन्धित क्षेत्रबाट बाहिर निकालिएको नोरडले जनाएको छ।

नोरडले विमान जानाजानी प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको हो वा भूलवश भन्नेबारे भने थप विवरण सार्वजनिक गरेको छैन।

यो घटना एक साताभित्र ट्रम्पसँग सम्बन्धित प्रतिबन्धित हवाई क्षेत्रमा विमान प्रवेश गरेको कम्तीमा चौथो घटना हो। यसअघि आइतबार न्यु जर्सीको बेडमिन्स्टरस्थित ट्रम्पको गोल्फ कोर्समाथिको प्रतिबन्धित हवाई क्षेत्रमा तीनवटा विमान प्रवेश गरेका थिए। ती घटनाहरू भने दुर्घटनावश भएको देखिएको थियो।

त्यसपछि नोरडले पाइलटहरूलाई संघीय सरकारले जारी गर्ने हवाई क्षेत्र बन्दसम्बन्धी सूचनाहरू नियमित रूपमा जाँच गर्न आग्रह गरेको थियो।

यसअघि जुलाई १९ मा पनि बेडमिन्स्टरमाथिको प्रतिबन्धित हवाई क्षेत्रमा तीनवटा विमान प्रवेश गरेका थिए। तीमध्ये दुईवटा घटनामा नोरडका एफ–१६ लडाकु विमानले फ्लेयर प्रयोग गर्दै विमानलाई प्रतिबन्धित क्षेत्रबाट बाहिर निकालेका थिए।

मंगलबार ओहायोमा भएको घटनामा पनि फ्लेयर प्रयोग गर्नुपरेका कारण यसलाई अघिल्ला घटनाभन्दा बढी गम्भीर रूपमा लिइएको न्युयोर्क टाइम्सले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin