काठमाडौँ, बुधबार । जल तथा मौसम विज्ञान विभागले भारतमा विकसित हावाहुरीसहितको वर्षा गराउने बादल नेपालतर्फ सर्दै आएको जनाएको छ। विभागका अनुसार उक्त प्रणाली सुदूरपश्चिमको कञ्चनपुर आसपास आइपुगिसकेको छ र विस्तारै देशका अन्य भागतर्फ फैलिने क्रममा रहेको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमबाट आएको न्यूनचापीय प्रणाली र पूर्वी भूभाग नजिक बनेको अर्को प्रणाली एकआपसमा जुध्दा मौसम थप अस्थिर बनेको हो। यसले हावाहुरी र वर्षाको तीव्रता बढाउने सम्भावना रहेको उनले बताए।
मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न ४ बजेदेखि बिहीबार बिहान ६:४५ बजेसम्म तीव्र हावाहुरी चल्ने चेतावनी दिएको छ। हावाको गति २० देखि २५ मिटर प्रतिसेकेन्डसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी, गण्डकी प्रदेशको नवलपुर, बागमती प्रदेशको चितवन, मधेस प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ जिल्लामा हावाहुरीको उच्च जोखिम रहेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीको समयमा अनावश्यक बाहिर ननिस्कन, झ्यालढोका मजबुत बनाउन, कमजोर संरचना सुरक्षित गर्न तथा अग्ला रूख, बिजुलीका पोल र तारबाट टाढा रहन आग्रह गरेको छ। लत्रिएको बिजुलीको तार नछुन समेत प्राधिकरणले चेतावनी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। केही पहाडी क्षेत्रमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा आएको आकस्मिक परिवर्तनका कारण नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।



