काठमाडौँ । वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। रोसी खोलामा आएको बाढीले अस्थायी ट्र्याक तथा डाइभर्सन बगाएपछि अवरुद्ध भएको सडक वर्षा रोकिएसँगै पुनः निर्माण गरी मंगलबारदेखि सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ।
विभागका अनुसार बीपी राजमार्गअन्तर्गत माङ्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको थियो।
वर्षा रोकिएपछि प्रभावित स्थानमा पुनः डाइभर्सन निर्माण तथा सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको हो। हाल उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन भइरहेको सडक विभागले जनाएको छ।
यसअघि लगातारको वर्षासँगै रोसी खोलामा आएको बाढीले सडकको अस्थायी संरचना बगाएपछि बीपी राजमार्गमा यातायात पूर्ण रूपमा प्रभावित भएको थियो।



