काठमाडौं– देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिनअनुसार असार १६, १७ र १८ गते देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा, हावाहुरी तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले नागरिकलाई मौसमसम्बन्धी पछिल्लो सूचनामा नियमित रूपमा अद्यावधिक रहन अनुरोध गरेको छ।
मंगलबार दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
बुधबार देशभर मौसम पूर्णतया बदली रहने अनुमान गरिएको छ। पहाडी भूभागका धेरै स्थानमा वर्षा हुने तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। तराईका केही क्षेत्रमा हावाहुरीको जोखिम पनि रहनेछ।
बिहीबार पनि देशभर पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेस प्रदेशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना कायम रहने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले विशेष गरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशमा भारीदेखि धेरै भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, भू–क्षय तथा गेग्रान बहाव र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने जनाएको छ। साथै, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।



