काठमाडौँको मुख्य ‘एजुकेसन हब’ मानिने बानेश्वर क्षेत्रका प्रतिष्ठित कलेजहरूले शिक्षक तथा कर्मचारीमाथि चरम आर्थिक शोषण गरिरहेको तथ्य फेला परेको छ। कलेज प्रशासनले हरेक महिना शिक्षकहरूको पारिश्रमिकबाट नियम अनुसारको आयकर (Income Tax) त काट्छन्, तर त्यो रकम वर्षौँसम्म सरकारी ढुकुटी (आन्तरिक राजस्व विभाग) मा दाखिला नै गर्दैनन्।
‘विचारधारा’ लाई प्राप्त दर्जनौँ गुनासो र प्रमाण अनुसार, बानेश्वरका चल्तीका कलेजमा पढाउने प्राध्यापकहरूले आफ्नो ‘नागरिक एप’ र इ-टीडीएस (e-TDS) विवरण हेर्दा लामो समयदेखि कर कट्टी भएको विवरण ‘अपडेट’ नभएको फेला पारेका हुन्। शिक्षकहरूको पसिनाबाट उठाइएको कर कलेज सञ्चालकहरूले व्यक्तिगत स्वार्थ र संस्थाको व्यापारिक पुँजीका रूपमा दुरुपयोग गरिरहेको आशंका गरिएको छ।
कर दाखिला नहुँदा भविष्यमा शिक्षकहरूले बैंक लोन लिन, कर चुक्ता प्रमाणपत्र (Tax Clearance) निकाल्न र वैदेशिक भ्रमणमा जाँदासमेत कानुनी झमेला भोग्नुपर्ने निश्चित छ। तलब काट्ने तर राज्यलाई बुझाउन ठगी गर्ने यस्ता कलेजहरूमाथि राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व कार्यालयले तत्काल छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ।



