लगातारको वर्षाले ११ प्रमुख सडकखण्ड प्रभावित, पृथ्वी र बीपी राजमार्गमा यातायात बन्द

काठमाडौँ । लगातारको वर्षा, पहिरो र खोलामा बढेको बहावका कारण देशका विभिन्न प्रमुख सडक तथा राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख सडकखण्डमा यातायात अवरुद्ध वा प्रभावित भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङलगायत क्षेत्रमा यातायात बन्द गरिएको छ। धादिङ खण्डमा यसअघि कृष्णभीरसहित विभिन्न स्थानमा पहिरो खसेको र पहिरो हटाउने काम भइरहेको विभाग तथा प्रहरीले जनाएको छ।

बीपी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ। काभ्रेको चौकीडाँडा, चारसयबेँसी, गिम्दीबेँसी र माम्तीमा पहिरो तथा लेदो खसेपछि सडक बन्द भएको हो। सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमै होल्ड गरिएको थियो।

कान्ति राजमार्गको केही क्षेत्रमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। मकवानपुरतर्फ पहिरो हटाएर सञ्चालनमा ल्याउने प्रयास भए पनि ललितपुर खण्डमा अवरोध हटाउने काम जारी रहेको विभागले जनाएको छ।

सिद्धिचरण राजमार्गको ओखलढुंगा–सल्लेरी खण्ड, मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर क्षेत्र तथा कालीगण्डकी करिडोरको बेलबगरमा पनि पहिरोका कारण सडक अवरुद्ध छ। बागलुङ–बेनी सडकको म्याग्दी खण्डमा समेत पहिरो हटाउने काम भइरहेको छ।

त्यस्तै, तमोर करिडोरको उँधुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि यातायात रोकिएको छ। राप्ती राजमार्गको कपुरकोट–खारखोला तथा कर्णाली राजमार्गका विभिन्न स्थानमा पनि पहिरो र ढुंगा खसेका कारण सडक प्रभावित भएको छ।

भालुवाङ–चन्द्रौटा–लिवाङ सडकका विभिन्न स्थानमा पनि पहिरोका कारण आंशिक अवरोध रहेको विभागले जनाएको छ।

यसअघि लगातार वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डसमेत सञ्चालनमा आउन नसकेको विवरण सार्वजनिक भएको थियो।

सडक विभागले भारी वर्षा भइरहेको अवस्थामा पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम उच्च हुने भन्दै अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्थामा सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न विभागले अनुरोध गरेको छ।

अहिलेको मुख्य अवस्था: वर्षा र पहिरोको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले सडक खुलेको भनिए पनि यात्रा अघि पछिल्लो अपडेट हेर्नुपर्ने अवस्था छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin