काठमाडौं । नेपाल सरकारले इन्धन बचत र कार्यक्षमता वृद्धिका लागि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय राजपत्रमै प्रकाशित गरे पनि निजी कलेजहरूले यसको धज्जी उडाएका छन्। नोबेल एकेडेमी लगायतका धेरै निजी कलेजहरूले आज आइतबार सार्वजनिक बिदाको दिन पनि दबाब दिएर शिक्षक र विद्यार्थीलाई कलेज बोलाएका छन्। सरकारी नियमको पालना गर्नुको साटो विद्यार्थीबाट चर्को शुल्क र जरिवाना असुल्नकै लागि कलेजहरूले ‘एकेडेमिक क्यालेन्डर’को बहाना बनाउँदै व्यापारिक स्वार्थ मात्र हेरेको पाइएको छ।
बिदाको दिन पनि कलेज बोलाएर विद्यार्थीलाई मानसिक तनाव दिने र प्रशासनले आफ्ना नियम लाद्ने कार्यले शिक्षा क्षेत्रमा निजी संस्थाहरूको मनपरी बढेको पुष्टि हुन्छ। कलेजभित्र क्यान्टिनदेखि स्टेशनरीसम्मको ‘एक्स्ट्रा बिजनेस’ चलाएर विद्यार्थी लुट्ने ध्येयले मात्र यस्ता संस्थाहरूले सरकारी बिदालाई लत्याउने गरेको अभिभावकहरूको आरोप छ।
विद्यार्थीबाट असुली, शिक्षकलाई भने भोकमरी
निजी कलेजहरूको अर्को डरलाग्दो पक्ष भनेको शिक्षकहरूमाथि भइरहेको चरम शोषण हो। एकातिर विद्यार्थीसँग समयमै चर्को शुल्क र जरिवाना असुलिन्छ, तर अर्कोतिर दिनरात पढाउने शिक्षकहरूले भने ३ महिनादेखि पारिश्रमिक पाउन सकेका हुँदैनन्। महिना मरेको महिनौँ बित्दा पनि तलब नदिने तर बिदाको दिनमा समेत काममा जोताउने कलेज प्रशासनको व्यवहारले शिक्षकहरू मारमा परेका छन्।
शिक्षा मन्त्रीले शिक्षा क्षेत्र सुधारका ठूला योजना ल्याइरहँदा भुइँ तहमा भने कलेजहरूले सरकारलाई चुनौती दिँदै व्यापारिक अखडा जमाएका छन्। विद्यार्थीबाट पैसा लुट्ने तर श्रम गर्ने शिक्षकलाई रित्तो हात राख्ने यस्ता संस्थाहरूमाथि तत्काल कडा अनुगमन र कानुनी कारबाही नभए शिक्षा क्षेत्रमा सिन्डिकेट झनै मौलाउने निश्चित देखिन्छ।



