कुलेखानी क्षेत्रमा बाढीको जोखिम बढेपछि तीन स्थानमा साइरन जडान

मकवानपुर । भारी वर्षाको पूर्वानुमानसँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय तथा आसपासका क्षेत्रमा बाढीजन्य जोखिम न्यूनीकरणका लागि सतर्कता बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुलेखानी क्षेत्रमा तीन स्थानमा साइरन जडान गरेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा साइरन राखिएको हो।

निरन्तर वर्षाका कारण जलाशयको जलसतह बढ्न सक्ने भएकाले साइरनमार्फत स्थानीय बासिन्दालाई समयमै सचेत गराउने व्यवस्था गरिएको राउतले बताए।

उनका अनुसार हाल इन्द्रसरोवरको जलसतह सामान्य अवस्थामा छ। बुधबार जलसतह १ हजार ५२२.२५ मिटर मापन गरिएको थियो। जलसतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ।

त्यस्तै, जलसतह १ हजार ५२८ मिटर पुगेपछि दोस्रो चेतावनीका रूपमा केही लामो समय साइरन बजाइनेछ। सोभन्दा माथि जलसतह पुगेमा निरन्तर लामो साइरन बजाएर जोखिमबारे सर्वसाधारणलाई जानकारी गराइनेछ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले बुधबार कुलेखानी जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरी सम्बन्धित निकायसँग छलफल गरेको थियो।

मौसम विभागले केही दिन भारी वर्षाको सम्भावना औंल्याएपछि प्रशासनले कुलेखानीसहित जोखिमयुक्त क्षेत्रमा आवश्यक सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। हेटौँडा र आसपासका क्षेत्रमा समेत बिहानदेखि निरन्तर वर्षा भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin