वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको कडा कदम, एकैदिन २५ मुद्दा दर्ता र १९ जनाविरुद्ध पक्राउ पूर्जी

२० असार, काठमाडौं — वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कारबाहीलाई तीव्र बनाएको छ। विभागले शनिबार एकैदिन २५ वटा नयाँ मुद्दा दर्ता गर्नुका साथै १९ जना फरार अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ।

विभागका अनुसार वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराइएको छ। फरार रहेका अन्य १९ जनाको खोजी कार्य पनि तीव्र बनाइएको विभागले जनाएको छ।

म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि विभागले निगरानी बढाएको छ। संस्था अनुगमन शाखाले विभिन्न विषयमा तीन वटा म्यानपावर कम्पनीलाई स्पष्टीकरण माग्दै आवश्यक पत्राचार गरेको छ। साथै, ४७ वटा म्यानपावर कम्पनी र सात वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) प्रदायक संस्थाको नवीकरण गरिएको छ।

ठगी तथा समस्यामा परेका श्रमिकको संरक्षणका लागि विभागले दुई जना श्रमिकको उद्धार गरेको, पाँच वटा उजुरी फर्स्योट गरेको तथा विदेशमा रहेका श्रमिकलाई सम्झौताअनुसार सेवा–सुविधा उपलब्ध गराउने सम्बन्धमा दुई वटा प्रतिबद्धता प्राप्त गरेको जनाएको छ। यस्तै, आठ चरणको दुईपक्षीय छलफलपछि एक जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जानकारी दिएको छ।

श्रमिकका गुनासो सम्बोधनतर्फ पनि विभाग सक्रिय रहेको जनाएको छ। ‘हेलो सरकार’ मार्फत प्राप्त नौ वटा गुनासोमध्ये पाँच वटाको समाधान गरिएको छ भने विभागको कल सेन्टरमा दर्ता भएका ४६ गुनासोमध्ये ४४ वटाको तत्काल सम्बोधन गरिएको विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन ठगीमा संलग्न व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही जारी रहने स्पष्ट पार्दै वैदेशिक रोजगारीका नाममा श्रमिक ठग्ने जोकोहीलाई कानुनको दायरामा ल्याइने चेतावनी दिएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin