मुस्ताङको कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले १५ दिनमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
रसुवागढी–केरुङ र तातोपानी नाका बाढीपहिरोका कारण बन्द भएपछि चीनबाट हुने मालवस्तुको आयात कोरलानाकातर्फ बढेको हो।
भन्सार प्रमुख विदुर चुडालका अनुसार भदौ १० देखि २५ गतेसम्म कोरलानाकाबाट ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ। शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधनको जाँचपास भएको थियो।
चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ। गत आर्थिक वर्षमा भने कोरलानाकाबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।



