काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका खानेपानी प्रणालीमा ठूलो क्षति पुर्याएको छ। बाढीबाट कति खानेपानी प्रणालीमा क्षति भयो र कति जनसंख्या खानेपानीको पहुँचबाट बाहिरिए भन्ने यकिन तथ्यांक भने अझै संकलन हुन सकेको छैन।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट सबैभन्दा ठूलो क्षति नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार बजारमा खानेपानी आपूर्ति गर्दै आएको आयोजनामा भएको छ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएको उक्त आयोजनाबाट ५ हजार ५ सयभन्दा बढी घरधुरी लाभान्वित हुँदै आएका थिए। बेत्रावतीबाट सडक हुँदै बट्टारसम्म ल्याइएको खानेपानी प्रणालीका पाइपलाइनसहितका संरचनामा बाढीले क्षति पुर्याएको श्रेष्ठले बताए।
बाढीसँगै विद्युत् सेवा अवरुद्ध हुँदा वैकल्पिक माध्यमबाट समेत खानेपानी आपूर्ति गर्न समस्या भइरहेको छ। नुवाकोट र रसुवामा विद्युत् आपूर्ति प्रभावकारी नहुँदा बोरिङ पम्प सञ्चालन गर्न नसकिएको विभागले जनाएको छ।
त्यसपछि काठमाडौंमा रहेको जेनेरेटर ल्याएर पम्पिङको व्यवस्था गरिएको छ। १ सय केभीए क्षमताको जेनेरेटरबाट २३ लिटर प्रतिसेकेन्ड क्षमताको पम्पिङ प्रणाली सञ्चालनमा ल्याइएको श्रेष्ठले जानकारी दिए।
यसैगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड तथा निजी क्षेत्रका ट्यांकरमार्फत बाढी प्रभावित क्षेत्रमा रहेका सेल्टरमा खानेपानी वितरण भइरहेको छ। राहुलधारालगायतका स्थानमा समेत ट्यांकरमार्फत पानी पुर्याइएको विभागले जनाएको छ।
राष्ट्रिय खानेपानी उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालका अनुसार विदुर खानेपानीको मुहान फलाखुँ खोला हो। मुहानबाट पानी ल्याउन बिछ्याइएको करिब ४ किलोमिटर पाइपलाइनमा क्षति पुगेको छ।
त्रिशूली नदीमा रहेका तीनवटा बोरिङसमेत बगाउँदा विदुर, बट्टार, इनारपानी र माझीटार क्षेत्रमा खानेपानी संकट उत्पन्न भएको उनले बताए। ताली खोला गंगटेको पानी तानेर वितरण गर्न सकिने सम्भावना रहे पनि लो भोल्टेजका कारण समस्या भइरहेको छ।
वाटर ट्रिटमेन्ट प्लान्ट बग्यो, कर्मचारी बेपत्ता
नुवाकोटमा खानेपानी तथा ढल व्यवस्थापन विभागले निर्माण गरिरहेको वाटर ट्रिटमेन्ट प्लान्टसमेत बाढीले बगाएको छ। निर्माणको अन्तिम चरणमा रहेको उक्त आयोजनामा कार्यरत ८–९ जना कर्मचारीसमेत बेपत्ता रहेको विभागका महानिर्देशक श्रेष्ठले बताए।
उनका अनुसार प्लान्टको संरचनामा ठूलो क्षति भएको छ भने त्यहाँ कार्यरत कर्मचारीको समेत खोजी भइरहेको छ।
६० करोडभन्दा बढीको क्षतिको प्रारम्भिक अनुमान
विभागले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा रहेका खानेपानी प्रणालीमा मात्रै ६० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
तर, यो प्रारम्भिक अनुमान मात्रै रहेको विभागले जनाएको छ। कतिपय स्थानमा खानेपानीका मुहान सुरक्षित रहे पनि वितरण प्रणाली पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक तथा पुल पुनर्निर्माणसँगै यस्ता खानेपानी प्रणाली पुनःस्थापना गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताए।
खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ६ नुवाकोटले दुवै जिल्लामा बाढीबाट प्रभावित खानेपानी आयोजनाको विवरण संकलन गरिरहेको छ। इन्जिनियर कामेश्वर दासका अनुसार प्रारम्भिक रूपमा साना–ठूला गरी करिब ३० वटा खानेपानी आयोजना प्रभावित भएको अनुमान गरिएको छ।
खानेपानीसँगै सरसफाइमा पनि चुनौती
बाढी प्रभावित नागरिकलाई राखिएका सेल्टरमा स्वच्छ खानेपानी तथा शौचालय व्यवस्थापन गर्नु चुनौतीपूर्ण बनेको छ। विभागले तत्कालका लागि सेल्टरमा खानेपानी र सरसफाइको व्यवस्था मिलाउन प्राथमिकता दिएको जनाएको छ।
वर्षायाम भएकाले पानीको स्रोतमा तत्काल ठूलो समस्या नभए पनि सडक र पुल बग्दा पानी वितरणमा कठिनाइ भएको विभागले जनाएको छ। रसुवामा समेत अवरुद्ध भएका खानेपानी प्रणालीलाई प्राथमिकताका आधारमा पुनः सञ्चालन गर्ने योजना बनाइएको छ।
पुनःस्थापनाको जिम्मा पूर्वाधार मन्त्रालयलाई
भदौ १० गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीपछि अवरुद्ध सडक तथा प्रभावित क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र गर्न पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
हाल खानेपानी, सहरी विकास तथा पूर्वाधार क्षेत्रको जिम्मेवारीसमेत पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको छ। मन्त्रालयले सडकतर्फ तत्काल तीन स्थानमा बेलिब्रिज जडान गर्ने तथा अन्य स्थानमा वैकल्पिक सडक सञ्चालन गरी यातायात सहज बनाउने तयारी गरिरहेको छ।



