काठमाडौं । एप्पलले पहिलो पटक सार्वजनिक गर्न लागेको फोल्डेबल आईफोन ‘iPhone Ultra’ को मूल्यले स्मार्टफोन बजारमा नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरिएको छ। विभिन्न विश्लेषकका अनुसार एप्पलको यो नयाँ डिभाइसको मूल्य २ हजार अमेरिकी डलरभन्दा माथि हुन सक्नेछ।
एप्पलको फोल्डेबल आईफोन सन् २०२६ को सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। ब्लूमबर्गका मार्क गुरमनले यो एप्पलको अहिलेसम्मकै सबैभन्दा महँगो आईफोन हुन सक्ने बताएका छन्। विश्लेषक मिङ–ची कुओले भने यसको मूल्य करिब २ हजारदेखि २ हजार ५ सय डलरसम्म पुग्न सक्ने अनुमान गरेका छन्।
मासिक किस्तामा महँगो आईफोन
एप्पलले हालै सुरु गरेको Apple Upgrade लिजिङ कार्यक्रमले महँगो फोल्डेबल आईफोन खरिद गर्ने तरिका परिवर्तन गर्न सक्ने देखिएको छ। कार्यक्रमअन्तर्गत प्रयोगकर्ताले एकैपटक ठूलो रकम तिर्नुको सट्टा मासिक शुल्कमार्फत डिभाइस प्रयोग गर्न सक्नेछन्।
रिपोर्टअनुसार फोल्डेबल iPhone Ultra लाई पनि लिजिङ योजनामा समावेश गरिए मासिक करिब ६० देखि ७० डलरसम्ममा प्रयोग गर्न सकिने अनुमान गरिएको छ।
आईफोनमा पहिलो पटक फोल्डेबल डिजाइन
रिपोर्टअनुसार iPhone Ultra मा ५.५ इन्चको बाहिरी डिस्प्ले र करिब ७.८ इन्चको भित्री फोल्डेबल डिस्प्ले हुने अपेक्षा गरिएको छ। भित्री स्क्रिन खुलेपछि सानो ट्याब्लेटजस्तो अनुभव दिने बताइएको छ, जुन एप्पलको iPad mini आकारसँग तुलना गरिएको छ।
यो डिजाइन सामसङको Galaxy Z Fold सिरिजसँग मिल्दोजुल्दो पुस्तक आकारको फोल्डेबल हुने अनुमान छ। फोल्डेबल बजारमा एप्पलको प्रवेशले प्रिमियम स्मार्टफोन प्रतिस्पर्धालाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।
उत्पादनमा चुनौती, सुरुवाती आपूर्ति सीमित हुन सक्ने
विश्लेषकहरूका अनुसार फोल्डेबल स्क्रिन र हिन्ज (कब्जा) प्रविधिका कारण उत्पादन प्रक्रिया चुनौतीपूर्ण हुन सक्छ। त्यसैले सार्वजनिक भए पनि सुरुवाती चरणमा आपूर्ति सीमित हुन सक्ने अनुमान गरिएको छ।
एप्पलले भने अहिलेसम्म फोल्डेबल आईफोनको नाम, मूल्य वा आधिकारिक विवरण सार्वजनिक गरेको छैन। तर बजार विश्लेषकहरूका अनुसार iPhone Ultra ले स्मार्टफोन उद्योगमा एप्पलको नयाँ प्रिमियम श्रेणी स्थापना गर्ने प्रयासको प्रतिनिधित्व गर्नेछ।



